
काठमाण्डू, २३ असार– सत्ताको प्रमुख घटकदल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी समेत सहभागी सरकार अपेक्षित रूपमा लोकप्रिय बनाउन नसकिएको दाबी गरेका छन ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आज (सोमबार) धारणा राख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘हामी निर्वाचनमा पहिलो दल भयौँ तर कहिले तेस्रो दलको नेतृत्वमा, कहिले दोस्रो दलको नेतृत्वमा हामी सरकारमा छौँ । केही राम्रा कामहरू सरकारले गरेको छ, ‘त्यसलाई एप्रिसिएट गर्नुपर्छ। तर सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन ।
त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ ।’ उनले प्रारम्भिक कार्यसमितिको चार वर्षसम्म महाधिवेशनको प्रक्रिया सुरु नगरेको भन्दै गम्भीर हुनुपर्ने बताए । ‘साङ्गठनिक रूपमा पाँच महिनापछि विधानले निर्धारित गरेको प्रारम्भिक हाम्रो चार वर्षे समय पूरा हुँदैछ ।
महाधिवेशनको प्रक्रियामा अहिले हामी गइसकेका छैनौँ,’ शर्माले भने, ‘केही बित्दैछ र योभन्दा बढी चुनौतीपूर्ण अवस्थामा हामी पुग्न पनि सक्छौँ भन्ने कुरा गम्भीर रूपमा हामीले राख्नुपर्छ ।’