युनुस अन्सारीलाई १५ लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाण्डूको आदेश

काठमाण्डु टुडे २०८२ असार २३ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, २३ असार– जिल्ला अदालत काठमाण्डूले युनुस अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । नक्कली नोट कारोबारको आरोपमा छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत, काठमाण्डूका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।

अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यसलगत्तै फेरि पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए । युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० जेठ २०७६ मा पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।

कतारबाट काठमाण्डूमा आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए ।

उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए । यिन तीन जना पाकिस्तानी नागरिकलाई लिन युनुससँगै पुगेका रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट समेत त्यहीँबाट पक्राउ परेका थिए । यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us