
काठमाण्डू, २३ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणको बारेमा संसदलाई जानकारी गराएका हुन । ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्व स्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य पूर्तिमा थप गति दिन योगदान दिएको पनि बताए ।
प्रधानमन्त्री ओलीले उक्त सम्मेलन पूर्व असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए । सरकार प्रमुख विदेश भ्रमणमा जानुअघि फर्केपछि संसद्लाई जानकारी गराउने प्रचलन छ ।
सोही क्रममा प्रधानमन्त्रीले स्पेनमा अति कम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए । बैठकमा सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्व स्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने अवगत गराएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अति कम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको भन्दै विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको बताए । उनले भने, ‘विकास साझेदारीका प्राथमिकताहरू मुखरितका प्रयास गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक साबित भएको छ ।
आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा गरिएको छ ।’ सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइड लाइन वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए ।
नेपालले ४४ वटा अति कम विकसित मुलुकहरू रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरू सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको स्पष्ट गरे ।