आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छः एमाले सांसद साह

काठमाण्डु टुडे २०८२ असार २३ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, २३ असार– एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद साहले यस्तो बताएका हुन । जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय थारु र महर्जनले सफाइ दिएका थिए ।

उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिएको भन्दै एमाले सांसद साहले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन । उनले भने, ‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिएको छ ।

यदी सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ ।’ यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जाने पनि बताएका हुन ।

जुन कुरा लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध भएको पनि बताए । उनले भने, ‘यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताव आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्थामा लोकतन्त्र र न्याय प्रणाली गम्भीर अपमान हो ।’ त्यस्तै, राजनीतिक भागबण्डामा न्यायधीशको नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us