डाक्टरको आन्दोलन, अलपत्र बिरामी

काठमाण्डु टुडे २०८२ असार २३ गते ११:४३ मा प्रकाशित

काठमाण्डू, २३ असार– नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मारमा परेका छन । स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि बिरामीहरु मारमा परेका हुन ।

नेपालको जेठो बीर अस्पताल लगायतका अस्पतालहरुमा बिरामीहरु अन्यौलग्रस्त देखिन्छन् । नेपाल चिकित्सक संघले ओपीडी टिकट काउन्टर बन्द गरेको भनेर टाँसेको सूचना पढेर फर्किन बाध्य छन् ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको जनाएको छ ।

केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो । उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

त्यसबाट मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा छ । यसअघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us