काँग्रेस प्रमुख सचेतक घिमिरे र माओवादीकी रेखा शर्माबीच भनाभन

काठमाण्डु टुडे २०८२ असार २२ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, २२ असार– संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा काँग्रेस मुख्य सचेतक श्याम घिमिरे र माओवादी सांसद एवं पूर्वमन्त्री रेखा शर्माबीच बाझाबाझ भएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उनीहरुबीभ भनाभन भएको हो । बैठकमा
समितिबाट विद्यालय शिक्षा विधेयकको मस्यौदा पारित गर्ने कार्यसूची थियो ।

समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई समिति सदस्यका रुपमा नभई काँग्रेस प्रमुख सचेतकको हैसियतमा बोल्न दिएको भन्दै शर्माले आपत्ति जनाइन् ।

लगत्तै सभापति थापाले समिति सदस्य भन्नुपर्नेमा घिमिरेलाई भुलबस प्रमुख सचेतक भनेको भन्दै माफी मागे ।

बैठकमा घिमिरेले विधेयक आइतबार पारित नगर्न प्रस्ताव राखे । घिमिरेले शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गरेर मात्र विधेयक अघि बढाउनुपर्ने बताएपछि शर्माले आपत्ति जनाइन् । घिमिरे अरु दलका सांसदलाई ह्वीप लगाउने शैलीमा प्रस्तुत भएको आरोप शर्माले लगाइन् ।

घिमिरेले भने शर्माले आफूलाई अपमानित गरेको भन्दै आपत्ति जनाए । शिक्षामन्त्री रघुजी पन्त र प्रमुख सचेतक घिमिरेले विधेयक रोक्न भनेपछि सभापति पछि हटेको भन्दै शर्मा आक्रोशित बनिन् ।
‘सभापतिज्यूले विधेयक पारित गर्ने भनेर बैठक बोलाउनुभएको थियो’, शर्माले भनिन्, ‘तर, किन स्थगितको प्रस्ताव राखियो ? काँग्रेसको प्रमुख सचेतकले समितिमा ह्वीप लगाउन मिल्छ ? समितिमा कोही पनि प्रमुख सचेतक हुँदैन ।

सबै सदस्य हुन्छ’, शर्माले भनिन् । उनले समितिको नेतृत्व सभापतिले गर्ने कि अरुले नै भन्ने प्रश्नसमेत गरिन् । त्यहीबीच घिमिरे बैठकबाट उठेर ह्रिड्ने खोजे । तर, सभापति थापाले उनलाई बस्न निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us