
काठमाण्डू, २२ असार–प्रधानमन्त्री केपी ओलीले नेपाललाई हुम्लामार्फत दुई छिमेकी चीन र भारतसँग जोड्ने बताएका छन् ।
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा नवनिर्मित बेली ब्रिज उद्घाटन गर्न त्यसतर्फ जाँदै गरेका उनले यस्तो बताएका हुन् ।
‘हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु’, हुम्ला प्रस्थान गर्नुअघि ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेली ब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ ।’
उक्त पुल नेपाली सेनाले हालै निर्माण गरेको हो । ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला गएका छन् । ओलीले कर्णाली करिडोरले व्यापार, पहुँच र एकताको ढोका खोल्ने बताए ।
करिब ४ सय १० किमी लामो कर्णाली कोरिडोर बाँकेको नेपाल–भारत सीमास्थित जमुनिया नाकाबाट सुरु भएर हुम्लाको उत्तरी सीमास्थित हिल्सासम्म पुग्छ ।
योसँगै सडक सञ्जालमा जोडिन बाँकी एक मात्र जिल्ला हुम्ला राष्ट्रिय राजमार्गमा जोडिएको छ ।