
काठमाण्डू, २२ असार– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउन माग गरेका छन् ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलमा बोल्दै सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताएका हन् ।
सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने अवस्था आउने उनले बताए ।
‘अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ । सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठीक भएन । त्यसमा सचेत हुनुपर्छ,’ उनले भने ।
न्यूज एजेन्सी नेपाल