प्राधिकरणको सव–स्टेशन ठेक्का प्रकरणः कुलमान घिसिङका काका ससुरा सांसद् तामाङविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८२ असार २१ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, २१ असार– बागमती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वसहकारीमन्त्री डम्बर तामाङविरुद्ध आपराधिक विश्वासघातको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ठेक्का प्रकरणमा तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला अदालतले गत वर्षको ५ फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो ।

तर, तामाङ पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्चले उक्त निवेदन खारेज गरेसँगै जिल्लाको पक्राउ पुर्जी सक्रिय भएको हो ।

सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङले उनीविरुद्ध जाहेरी दिएका थिए । तामाङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा र राप्रपा नेता एवं सांसद् बु्द्धिमान तामाङका भाई हुन् । राप्रपा नेता तामाङ ०७९ को आमनिर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित भएका थिए ।

तामाङमाथि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको दबाबमा विद्युत सब–स्टेशनको ठेक्का दिएको अभियोगमा उजुरी परेको हो ।

चीनको ‘पिगांओ ग्रुप अफ कम्पनी’ ले १ अर्ब ११ करोडमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गत चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का पाएको थियो ।

गुरुङ अध्यक्ष रहेको सहन इन्जिनियरिङ कन्सर्न प्रालिले उक्त ठेक्काको सव–कन्ट्रयाक्ट पाएको थियो । तर, कार्यकारी निर्देशक घिसिङको दबाबमा त्यसको लेबर कन्ट्राक्ट सांसद् तामाङ सञ्चालक रहेको प्रो–सोलुसन्सलाई दिलाइएको उजुरीकर्ताको आरोप छ ।

तामाङले आफ्नो कम्पनी सहन कन्स्ट्रक्सनमार्फत लिनुपर्ने भुक्तानी कार्यकारी निर्देशक घिसिङको दबाबमा पिंगाओले सिधै तामाङको प्रो सोलुसन्सलाई दिइएकाले आफूलाई मर्का परेको तर्क गुरुङको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us