पर्यटन समृद्धिको शक्तिशाली विकल्प होः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८२ असार २१ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, २१ असार– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्रलाई मुख्य आधारको रूपमा अगाडि सार्नुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि धेरै विकल्पमध्ये पर्यटन शक्तिशाली विकल्प भएको बताए ।
पर्यटनको अपार सम्भावनालाई मूर्तरूप दिन देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि लगानी भित्र्याउनुपर्ने आवश्यकता रहेको पौडेलले औंल्याए ।
पर्यटन क्षेत्रमा राज्यको लगानी मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले भने, ‘पर्यटन क्षेत्रमा राज्यका तर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने भएकोले देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्र्छ ।’
बजेट निर्माण प्रक्रियामा लगानी आकर्षण र अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिइएको उनले बताए । ‘बजेट निर्माण गर्दा पनि लगानी भित्र्याउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रित गरेका छौं’, उनले भने ।
कार्यक्रममा पौडेलले राजनीतिक स्थायित्व समृद्धिको आधारभूत सर्त भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us