हर्क साम्पाङको श्रमदानमा सहभागी हुनु पार्टी हितविपरीत भन्दै एमालेद्वारा धरान–४ का वडाअध्यमाथि कारबाही सिफारिस

काठमाण्डु टुडे २०८२ असार २१ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, २१ असार– एमालेले धरानका मेयर हर्क साम्पाङ राईसँग निकट सम्बन्ध राखेको भन्दै धरान उपमहानगरपालिका–४ का वडाअध्यक्ष धनबहादुर राईलाई बर्खास्तीको सिफारिस गरेको छ ।

वडाध्यक्ष राईमाथि मेयर राईले चलाएको श्रमदानमा सहभागी भएको अभियोग लगाएर एमाले धरान नगरकमिटीले बर्खास्तीका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो ।

एमाले धरान नगरकमिटी उपाध्यक्ष पारस काङमाङ राईले पार्टी हितविपरीत काम गरेकाले भन्दै वडाध्यक्षबाट कारबाही गर्न जिल्ला कमिटी समक्ष सिफारिस गरिएको बताए ।

राई ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । सुरुदेखि नै मेयर हर्कसँग नजिक रहेको भन्दै एमाले नेताहरुले राईमाथि कारबाहीको चेतावनी दिँदै आएका थिए ।

‘उहाँ लामो समयदेखि पार्टी हित र निर्देशनविपरीत चल्नुभएको थियो’, एमाले धरान उपाध्यक्ष राईले भने, ‘पटकपटक पार्टी बैठकमा अनुपस्थित रहँदै आउनुभएकोले कारबाहीका लागि सिफारिस गरिएको हो ।’

उनका अनुसार राईमाथि यसअघि तीनपटक स्पष्टीकरण सोधिएको र तीनैपटकको जवाफ चित्त बुझ्दो नभएपछि कारबाही गर्न लागिएको हो ।

एमाले सुनसरीका कार्यबाहक अध्यक्ष पुर्शराम यादवले पटकपटक सम्झाउँदा पनि नसुध्रिएकाले राईमाथि कारबाही अघि बढाइएको बताए ।

‘नगर कमिटीले कारबाहीको सिफारिस गरेर पठाएको छ’, उनले भने, ‘पटकपटक सम्झाउँदा पनि पार्टी हितवीपरित काममा सक्रिय भइरहेकाले उहाँमाथि कारबाही गर्नुपर्ने अवस्था आयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us