पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छुः रामहरि खतिवडा

काठमाण्डु टुडे २०८२ असार २० गते १५:१२ मा प्रकाशित

काठमाण्डू,२० असार– नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न आफु तयार रहेको तर्क गरेका छन ।

संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेको थियो । विपक्षी दल र कांग्रेस एमालेका सांसदले समेत उनको राजीनामा माग गरेका छन् ।

संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’ बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह समेत गरेका छन ।

समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न आफु तयार रहेको पनि उनले बताए । खतिवडाले पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन ।

उनले भने, ‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ?’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे । पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस,’ खतिवडाले भने, ‘पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us