एमालेमा संकट बढ्दै गयो, भविष्यबारे सजिलै भन्न सकिँदैनः अध्यक्ष नेपाल

काठमाण्डु टुडे २०८२ असार २० गते १५:०३ मा प्रकाशित

काठमाण्डू,२० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल एमालेमा संकट बढ्दै गएको भन्दै त्यसको परिणाम अनुमान लगाउन नसकिने दाबी गरेका छन ।

आज (शुक्रबार) काठमाण्डूमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन । एमाले पार्टीभित्र अन्तरविरोध बढ्दै गएको र त्यसको भविष्य के हुन्छ भन्नेबारे सजिलै भन्न सकिने अवस्थामा नरहेको बताएका हुन ।

अध्यक्ष नेपालले भने, ‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन ।’

उनले कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने प्रवृत्तिलाई परास्त गर्नैपर्ने उनले भने । उनले भने, ‘कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै होइन, दक्षिणवादी प्रवृत्ति बोक्ने जुनसुकै प्रवृत्ति बोकेका छन् भने त्यसलाई परास्त गर्नैपर्छ ।’

उनले देशको राजनीतिक अवस्थालाई वर्तमान सरकारले राम्रोसँग हाँक्न नसकेको पनि बताएका छन । उनले भने, ‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन ।

सही नीति अवलम्बन गर्न सकेको छैन ।’ वर्तमान सरकारलाई आफूहरूले साथ दिने कुरा नहुने हुँदा यसको पतन अनिवार्य भएको पनि बताएका छन ।

उनले भने, ‘यस्तो सरकारलाई हामीले साथ दिने कुरै हुँदैन । यसको पतन अनिवार्य छ । खाली हामी पर्खनुपर्ने हुन्छ । आत्तिनुपर्ने अवस्था छैन, ‘हामी देशैभर अधिवेशन गरिरहेका छौं । एक दुई वटा प्रदेशमा मात्रै बाँकी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us