
काठमाण्डू,२० असार– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले केही मान्छेहरू पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति व्यक्ति गरेका छन ।
विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीतर्फ इंकित गर्दै ‘सेलिब्रेटि बन्न र स्टन्टबाजी’ गर्न मूल नेतृत्वमाथि प्रहार भएको पनि बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दर्ता भएसँगै अध्यक्ष माधव नेपालमाथि विशेष अदालतबाट ३५ लाख धरौटी माग गर्दै छाडिएको थियो । सोही विषयलाई लिएर स्थायी कमिटी सदस्य झांक्रीले रुपन्देहीमा पुगेर अध्यक्ष नेपालमाथि दिएको अभिव्यक्तिलाई लिएर पार्टी पंक्तिमा आलोचना सुरु भएको थियो ।
लगत्तै, पार्टी अनुशासन विभागले उनलाई स्पष्टीकरण पनि सोधेको छ । उनले भने, ‘कोही कोही मान्छेहरू सेलिब्रेटि बन्न र स्टन्टबाजी गर्नका लागि हाम्रो पार्टीका मूल नेतामाथि प्रहार गर्न थालेका छन्, ‘म भन्न चाहन्छु, यो देशमा समकालीन राजनीतिमा निष्कलंक मान्छे भनेको कमरेड माधव नेपाल मात्रै हो । यसमा कुनै द्वीविधा छैन ।’
उनले बजारमा भइरहेका यस्ता स्टन्टबाजी गरिरहेको भन्दै समय आएपछि गुन तिर्ने पनि बताएका छन । उनले भने, ‘हामीले बजारमा गएर स्टन्टबाजी गरिरहेको हेरिरहेका छौं । समय आएको छैन । समय आएपछि राम्रैसँग गुन तिर्न आउँछ ।’ उनले अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध रहेको भन्दै त्यसविरुद्ध डटेर सामना गर्ने पनि बताएका छन ।
उनले भने, ‘हामी डटेर सामना गर्छौं । राजनीतिक प्रतिशोध र ष्ड्यन्त्रको । हामीले एउटा राजनीतिक प्रतिशोधनको डटेर सामना गर्छौं भन्दा कानुनी प्रक्रियालाई पनि डटेर सामना गर्छौं ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारलाई दुरुपयोग गरेको पनि बताएका छन ।
‘हिम्मत नहार्न भन्दै तमाम पंक्ति र पार्टी कार्यकर्ता रहेका छन्,’ पराजुलीले भनेका छन्, ‘बुख्याँचा बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेको आरोप लगाउँदै हिसाबकिताब गर्ने पनि उनले बताए ।’