उपेन्द्रपछि रेशम चौधरीले छाडे ओलीको साथ, सरकारबाट बाहिरिने तयारी

काठमाण्डु टुडे २०८२ असार १९ गते २०:५७ मा प्रकाशित

काठमाण्डू, १९ असार– रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो दल संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने बताइन् । बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले सरकार छाड्ने चेतावनी दिएको हो ।

श्रेष्ठले मुख्यमन्त्री शाहले गठबन्धन संस्कृतिविपरीत आफूहरुसँग परामर्श नगरी मन्त्री चौधरीलाई बर्खास्त गरेको भन्दै आपत्ति जनाइन् । उनले शुक्रबार सरकारबाट बाहिरिनेबारे औपचारिक निर्णय हुने उनको भनाइ छ ।

‘हामीले पार्टीमा अनौपचारिक निर्णय गरिसक्यौं’, उनले भनिन्, औपचारिक रुपमा हामी भोलि (शुक्रबार) संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’
सो पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे । बजेट निर्माणमा वित्तीय अनुशासन उल्लंघन गरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा परामर्श नगरेको जस्ता आरोप लगाउँदै मुख्यमन्त्री शाहले चौधरीको राजीनामा मागेका थिए ।

तर, उनले राजीनामा नदिने भन्दै आफूलाई बर्खास्त गरेर देखाउन मुख्यमन्त्रीलाई चुनौती दिएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद् छन् ।

यसअघि सरकारले औचित्यता पुष्टि गर्न नसकेको तथा सुशासन र संविधान संशोधनको एजेण्डामा कुनै काम नगरेको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us