
काठमाण्डू, १९ असार– स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ पुगेका छन ।
प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । मिगेलले क्लबको लामो इतिहास,सफलताका यात्रा र भविष्यका योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो क्रममा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायतका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए । सान्टियागो पुगेर उनले ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।
स्पेनी महारथी फुटबल क्लबका रूपमा चिनिने रियल मड्रिड सन् १९०२ मा स्थापना भएको हो । रियल मड्रिडले कीर्तिमानी १५ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ ।