७५ करोड लागतमा खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो

काठमाण्डु टुडे २०८२ असार १९ गते १५:५३ मा प्रकाशित

काठमाण्डू, १९ असार– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधा सम्पन्न विमानस्थल निर्माण र सञ्चालनमा ल्याएसँगै यहाँ इन्धन डिपो स्थापना प्रक्रिया अगाडि बढेको थियो । यो विमानस्थलबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।

सोही जग्गामा अहिले अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको निगमले जनाएको छ । २ चैत २०७७ मा यहाँ हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान भएको थियो । डेढ वर्षपछि २९ कात्तिक २०७९ मा बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐन प्रावधान अनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माण कार्य अघि बढाउन सम्झौता भएको थियो । लगत्तै, १५ पुस २०७९ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता भएको थियो ।

१ साउन २०८० मा निर्माण कार्य शिलान्यास भएको थियो । शिलान्यास लगत्तै निर्माण कार्यलाई निरन्तर रूपमा तीव्रता दिई हाल सम्पन्न गरिएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै यहाँ १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कुल ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र ब्यास पनि १२ मिटर छ ।

त्यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन १ हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचन आबद्ध गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us