
काठमाण्डू, १९ असार– नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । आज (बिहिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी गराएका हुन ।
यसअघि बिहीबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार र हल्ला मात्रै भएको तर्क गरेकी थिइन । उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए ।
सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाको भनाइ छ । बिहीबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए ।
पार्टीका केही नेताहरू अस्वस्थ रहेकाले बैठक केहि समय बसेर स्थगित गरिएको खतिवडाको भनाइ छ । सचिवालय बैठक असार २२ गते पुनः बस्ने गरी स्थगित भएको छ ।