
काठमाण्डू, १९ असार– पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन ।
आज (बिहिबार) अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता कार्कीले यस्तो बताएका हुन । उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका छन । सांसद कार्कीले अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रूपमा नयाँ ढंगले छलफल गरेर जानुपर्ने पनि बताए ।
उनले भने, ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ, जसले मुलुकको सुस्त रूपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ, ‘न्यून स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ ।
गभर्नरसहित अर्थमन्त्रीलाई आवासीय कार्यक्रम राखेर बाफिया विधेयकमा छलफल गर्नुपर्छ ।’ कृषिमा आधारित अर्थतन्त्र रहेको देशमा चामलमा आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं भन्नेबारे सोच्न उनले आग्रह समेत गरेका छन ।
उनले बैंकप्रति जनताको भरोसा बढेर जानेगरी काम गर्नुपर्ने पनि बताएका छन । उनले भने, ‘बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्किएका छन् । उद्यमी व्यवसायीले पैसा लिने वातावरण नबनेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’