
काठमाण्डू, १९ असार– नेपालमा पहिलोपटक तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको हो ।
उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले जानकारी दिएका छन । उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो ।
त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको उनले जानकरी दिएका छन । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको भुसालले बताए । ‘हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर कस्टमसम्म ल्याइपुर्याएका छौं, अब त्यहीँ फिट गर्छौं अनि जाँचपास गरी उडाएर काठमाण्डू ल्याउँछौं,’ भुसालले भने ।
उनले तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताए । ‘पहिले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याएका थियौं । तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याएको पहिलोपटक हो,’ उनले भने ।