
काठमाण्डू, १९ असार– देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले हाल देशका धेरै भू–भागमा वर्षा भइरहेको छ । बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा मापन गरिएको छ ।
दिउँसोका लागि मौसम पूर्वानुमान अनुसार, पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको सम्भावना छ । विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भेगहरूमा वर्षाको सम्भावना बढी रहेको छ ।
यी क्षेत्रका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । अन्य क्षेत्रका केही स्थानहरूमा पनि वर्षा हुने देखिएको छ ।
यसका अतिरिक्त, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ । त्यस्तै, उच्चपहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
रातिको समयमा देशभर सामान्य बदलीको अवस्था रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्छ ।
साथै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली क्षेत्रहरूमा रातिको समयमा पनि हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।