
काठमाण्डू, १८ असार– कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अभिव्यक्तिलाई लिएर कडा प्रतिक्रिया जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग थापाले बस्नेतका आरोपहरुलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादितको संज्ञा दिए ।
केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले अश्लिल शब्द प्रायेग गर्दै थापामाथि गालीगलोज गरेका थिए । उनले थापाले संसदमा बोलेका कारण आफूमाथि भ्रष्टाचार मुद्धान लगाइएको दाबी गरे ।
पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतलमा मुद्धा दायर गरेको थियो । बस्नेत केही दिनअघि १५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
थापाले बस्नेतले भनेजस्तो आफूले केही नगरेको प्रष्टीकरण दिए ।
थापाले बस्नेतको अश्लिल गालीलाई राजनीतिक स्तर र सभ्यताको सीमा नाघ्ने तरिका भएको टिप्पणी गरे ।
आफूसँग निहुँ खोज्नेसँग लड्ने तरिकाबारे बाबु र आमाले फरक सल्लाह दिएको स्मरण उनले गरे ।
‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ । आमाले भन्नुहुन्थ्यो ‘फोहोर नचलाउनु, नत्र आफैं फोहोरी भइन्छ ’ थापाले भने, ‘आज म आमाको कुरा मान्छु ।”
थापाले आफू तरुण दलको समस्या समाधान गर्न वार्तामा बसेका बेला बस्नेतले बैठकभित्र धम्कीपूर्ण व्यवहार देखाएको उल्लेख गरे । उनले यस्तो शैलीलाई ‘नैतिक पतन’ को संज्ञा दिए ।