
काठमाण्डू, १८ असार– पूर्वअर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले नेपालमा दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको बताएका छन् ।
दिवंगत पूर्वप्रधानमन्त्री एवं तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको १०२औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा आचार्यले मुलुकलाई तीव्र विकासको दिशामा अघि बढाउन सक्ने, निष्ठावान र परिश्रमी नेतृत्वको खाँचो औंल्याए । ‘देशलाई अहिले १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री चाहिएको छ,” आचार्यले भने, ‘राजनीतिक स्थायित्वको लडाइँ सकिएको छ । अब राजनीतिको प्रमुख एजेण्डा आर्थिक मुद्दा बन्नुपर्छ ।’
छिमेकी मुलुकहरूको आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै आचार्यले नेपाल पनि अब व्यावसायिक सोच र रणनीतिको आधारित बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । विश्वको दोश्रो अर्थतन्त्र बनेको भारत र तेश्रो ठूलो अर्थतन्त्र बन्न अग्रसर भारतसँग अनुचित बहस छाडेर उनीहरुको आर्थिक विकासको लाभ लिन सक्नुपर्ने उनले स्पष्ट गरे ।
आचार्यले युवा जनशक्तिलाई देशभित्र रोक्न नसक्नु र उनीहरु विदेश पलायन हुनुको कारण रानजीतिक नेतृत्वको अक्षमता भएको उल्लेख गरे ।
रोजगारी सिर्जना, लगानीमैत्री नीति र उत्पादनमा आधारित आर्थिक सुधारलाई सरकारल उच्च प्राथमिकतामा राख्नुपर्ने आचार्यको भनाइ थियो ।