
काठमाण्डू, १८ असार– काठमाण्डूमा डेटिङ एप बनाएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ । नेपाली युवा युवतीहरुलाई डेटिङ एमार्फत सम्पर्क गरी अनलाइन डेटिङ स्क्याममा लगाउने गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए ।
यसका साथै उनीहरुले क्रिप्टोको कारोबार गरेको पनि सीआईबीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० अवैध रकम पनि बरामद गरेको छ । यो घटनामा सीआईबीले ५२ जनालाई नियन्त्रणमा लिएको बाँकी ४६ जनालाई भने हिरासत बाहिरै राखेर मुख्य ६ जनालाई हिरासतमै राखेर अनुसन्धन अघि बढाएको छ ।