
काठमाण्डू, १८ असार– कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेको छ । मिश्र सत्ताको नेतृत्व गरेका दल एमालेका केन्द्रीय सदस्य हुन् भने जिविस सभापति पनि भइसकेका व्यक्ति भएको पाइएको छ ।
मिश्रलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । बाँकेमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइने सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिएका छन ।
मिश्र वि.संः २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके– २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए ।
एमाले प्रवेश गर्नासाथ उनलाई पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो । तर, उनले निर्वाचन जित्न सकेनन् । अहिले त्यहाँ नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयर छन् ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्र् प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।