गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छुः रामहरि खतिवडा

काठमाण्डु टुडे २०८२ असार १८ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, १८ असार– प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि आफु तयार रहेको बताएका छन ।

आज समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा सभापति खतिवडाले यस्तो बताएका हुन । ‘यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु,’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरी खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु ।’

साथै, उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको बताए । उनले भने, ‘कुनैपनि इस्यूमा समितिको कार्यभन्दा बाहेक मैले थपेको भनेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ भन्दा बाहेक केही थिएन ।’ उनले आफ्नो राजनीतिलाई नै सक्नेगरी समितिका काममाथि प्रश्न उठाउने काम भएको पनि बताए ।

उनले भने, ‘राजनीतिमा कसैको निगाहबाट आएको होइन । मेरो बाउ शहिद भएर पनि आएको होइन चन्दा दिएर पनि आएको होइन, ‘राजनीतिमा दुस्ख गरेर आएको हुँ । निष्ठा र प्रतिष्ठसँग म आज पनि दृढ छु ।

ममाथि आक्रमण प्रहार भएको छ ।’ उनले आफूमात्रै नभइ संसद्माथिकै प्रहार भएको पनि बताए । आफ्नो समितिले विभिन्न ठूला उपलब्धि गरेको भए पनि यसपटकको यो विषयलाई लिएर खुइल्याउने काम हुन थालेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us