
काठमाण्डू, १८ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको बताएको छ । जनताको मनमस्तिष्कबाट पनि सरकार विस्थापित भइसकेको माओवादीको तर्क छ ।
आज (बुधबार) माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन । उनले भने, ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ ।
जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।’ वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष रहेको छ ।
प्रवक्ता सापकोटाले भने, ‘वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’ उनले सरकारले राजनीतिक प्रतिशोधको आधारमा विपक्षीलाई प्रहार गरेको र बिचौलियाको संरक्षण गरेको आरोप समेत लगाए ।