
काठमाण्डू, १८ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही गर्न माग गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गरेका हुन ।
उनले भने, ‘सानोतिनो षड्यन्त्र भएको होइन, संसद्लाई बदनाम गर्ने गरी ठूलो षड्यन्त्र भएको छ, ‘यसलाई यसै छाड्न हुँदैन । उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनु पर्यो ।
सभापतिदेखि सबैमाथि छानबिन गर्नु पर्यो र दोषीमाथि कडा कारबाही गर्नुपर्यो ।’ उनले विधेयक तयार हुँदै गर्दादेखि नै अनेक अड्चन आएको स्मरण गर्दै गम्भीर षड्यन्त्र भएको उनले बताए ।