निजामती विधेयकमा भएको चलखेलको छानबिन हुन्छः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८२ असार १८ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, १८ असार– कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही गर्न माग गरेका छन ।

आज (बुधबार) काठमाण्डूको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उनले बताए ।

प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्था गरिएको थियो । तर, ‘बाहेक’ शब्दका कारण समस्या सिर्जना भएको छ । सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे ।

उनले सरकारको आलोचना गर्ने नेताहरुले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने पनि उनले बताए । त्यस्तै उनले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरु राजनीतिमा आएको तर्क गरे ।

सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरुलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us