
काठमाण्डू, १७ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर रुपमा छानबिन हुनपर्ने अवस्था आएको बताएका छन ।
आज (मंगलबार) माओवादी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले समितिबाट संसदमा जाने क्रममा कहीँ न कहीँ चलखेल भएको बताउँदै उनले त्यसमा गम्भीर हुनुपर्नेपनि बताउका छन ।
अध्यक्ष प्रचण्डले भने, ‘सदनमा जाँदा त्यहाँ कहीँ न कहीँ चलखेल गरेको देखिएको छ । त्यसको बारेमा गम्भीर रुपमा छानबिन हुनुपर्ने, कारबाही हुनुपर्ने अवस्था आइलागेको छ ।’
उनले कर्मचारीतन्त्र भित्र एउटा पक्ष यो विधेयक ल्याउन नदिन पहिल्यैदेखि लागेको भन्दै उनले अहिले पनि त्यस्तै भएको हुनसक्ने दाबी गरेका छन । उनले भने, ‘कर्मचारीतन्त्रभित्र एउटा पक्ष संघीय निजामती ऐन यो रुपमा नआओस् भन्न चाहन्थ्यो । कहीँ त्यहीँ नै चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ, ‘अहिले मैले कसैलाई ताकेर आरोप लगाउन सक्ने स्थिति छैन ।
यो समग्र प्रक्रियामा कहाँबाट चलखेल भएको हो गम्भीर छानबिन हुनुपर्यो । दोषीमाथि कडा कारबाही हुनुपर्यो ।’ उनले कतिपय सांसदले गम्भीर रुपमा संसदीय छानबिन समिति चाहिन्छ भनेको भए पनि राजनीतिक तहमा आफूले छलफल गर्ने पनि बताएका छन ।
अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा गम्भीर छ । कतिपय माननीयले संसदीय छानबिन समिति नै बनाउनुपर्छ भनिरहनुभएको छ,’ प्रचण्डले भने, ‘मैले पनि गम्भीर रुपमा लिएको छु । राजनीतिक तहसम्म छलफल गर्नुपर्ने मैले बुझेको छु ।’