ट्रक दुर्घटनामा चालकको मृत्यु, सह-चालक घाइते

काठमाण्डु टुडे २०८२ असार १७ गते ९:४९ मा प्रकाशित

मकवानपुर, १७ असार–पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्नजिकै मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सहचालक घाइते भएका छन् । भारतको बनारसबाट सिमेन्ट उद्योगका लागि कोइला बोकेर आइरहेको युपी–६–एटी–०९६२ नम्बरको लहरी ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ट्रकको अगाडि भाग सडक छेउको चार्जिङ प्वाइन्ट नजिकै गएर ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ट्रक चालक भारत गाजीपुर जिल्लास्थित पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार ट्रकभित्र च्यापिएर गम्भीर अवस्थामा फेला परेका चालक यादवलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्या इएको थियो । तर चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेको हो ।
दुर्घटनामा सहचालक २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनी भारतकै गाजीपुर क्षेत्रका बासिन्दा हुन् । यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us