
काठमाण्डू, १६ असार– शिक्षा समितिको बैठक जारी छ । बिहान साढे ८ बजे बोलाइएको बैठक अहिले ४ बजेपछि मात्रै सुरु भएको हो । विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न ढिला भएको हो ।
असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ । आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए । हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।
विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन् ।
समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए । विधेयकका केही प्रावधानमाथि शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुट्न नसक्दा बैठक अन्योल बनेको हो ।
मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए । महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन ।