
काठमाण्डू, १६ असार– नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी छन । पूर्व राष्ट्रपतिले सबै सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरेको उनी निकट स्रोतले जानकारी दियो ।
‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ उनी निकट स्रोत भन्छ, ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’ ती स्रोतले बताए अनुसार, आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारी छ । ‘अहिले सरकारले उहाँलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ ।
गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् । भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।