ओलीले स्पेनका प्रधानमन्त्रीलाई नेपाल बोलाए

काठमाण्डु टुडे २०८२ असार १६ गते ७:२२ मा प्रकाशित

काठमाण्डू, १६ असार– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार साँझ सेभियामा द्विपक्षीय भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।

करिब ३० मिनेटको भेटमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा कुराकानी भएको बताइएको छ ।

ओली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त सम्मेलनमा सहभागी हुन आइतबार म्याड्रिड पुगेका थिए ।

भेटमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी थिए ।

ओलीले स्पेनी प्रधानमन्त्री सान्चेजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यस्तै ओलीले काठमाण्डूमा स्पेनको आवासीय दूतावास स्थापना गर्न पनि प्रधानमन्त्री सान्चेजलाई आग्रह गरे ।

जवाफमा सान्चेजले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us