
काठमाण्डू, १६ असार– हाल देशभर मनसुन सक्रिय भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव अहिले पश्चिम नेपालतिर बढी देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा लगातार पानी परिरहेको छ ।
पछिल्लो तीन घन्टामा बेलौरीमा ९७.२ मिलिमिटर र कृष्णपुरमा ९५.८ मिलिमिटर वर्षा मापन गरिएको छ । पर्सियामा ५५.६ मिलिमिटर र हनुमाननगरमा ४१.२ मिलिमिटर पानी परेको छ ।
आज सोमबार देशभर आकाश ढाकिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । कतिपय स्थानमा एकैपटक धेरै पानी पर्न सक्ने विभागले जनाएको छ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पानीसँगै हिमपात हुनसक्ने पूर्वानुमान छ ।
रातिको मौसम पनि दिनकै जस्तो रहनेछ । धेरैजसो पहाडी जिल्लामा वर्षा हुने र केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।
मौसम विभागले बाढी, पहिरो र डुबानको जोखिम भएकाले सतर्क रहन आग्रह गरेको छ ।