
काठमाण्डू, १५ असार– जुम्लाको हिमा गाउँपालिका–१ बड्कीमा शनिबार बेलुका भएको बस चालक र स्थानीय युवाबीचको विवादले एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायानाथ रारा नगरपालिका–५ का ५८ वर्षीय हरिचन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यलय जुम्लाले जानकारी दिएको छ ।
मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ३५३३ नम्बरको बसलाई दुई युवाले जबरजस्ती रोकेर चालकमाथि कुटपिट गरेपछि भएको घटनामा ५८ वर्षीय हरिचन्द्र कार्कीको मृत्यु भएको हो । बड्की गाउँ नाग्म मुगु सडक–खण्डमा पर्छ ।
यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार बेलुका करिब साढे ७ बजे जुम्लाको हिमा गाउँपालिका–५ का २१ वर्षीय पारस शाही र २२ वर्षीय आकाश शाहीले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा बस रोकेर चालक वीरबहादुर सुनारमाथि दुर्व्यवहार र हातपात गरेका थिए ।
त्यहीँ क्रममा ३८ चालक वीरबहादुर सुनार बसबाट ओर्लने प्रयास गर्दा गाडी पछाडि सरेको र ढोकानजिक उभिएका कार्की लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै हिमा गाउँपालिकाको एम्बुलेन्सबाट उद्धार गरी जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
कार्कीको बिच बाटोमै मृत्यु भइसकेको मृतककी श्रीमती हसादेवि कार्कीले जानकारी दिइन् । घटनामा संलग्न दुवै युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झगडा छुट्याउने क्रममा म्याग्दी सोरु गाउँपालिका–२ का ३० वर्षीय मुगानाथ र चालक वीरबहादुर सुनार सामान्य घाइते भएका छन् । बस चालक दैलेख महाबु गाउँपालिका– ६ स्थानीय बासिन्दा हुन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।