मेघराज पोखरेललाई महेश बर्तौलाको सुझावः न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुस्

काठमाण्डु टुडे २०८२ असार १५ गते ११:४७ मा प्रकाशित

काठमाण्डू, १५ असार– सत्ताको प्रमुख घटकदल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन । संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि आफ्ना धारणा राख्दै बर्तौलाले पोखरेलले विगतमा सक्रिय राजनीति गरेको र व्यापारिक घरानाबाट प्रभावित हुने गरेको भन्दै बर्तौलाले न्यायाधीश नबन्न सुझाव दिएका हुन ।

प्रमुख सचेत बर्ताैलाले भने, ‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ, ‘तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस् यो मेरो व्यक्तिगत सुझाव हो ।’ त्यसअघि बर्तौलाले पोखरेल व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै एक बैंकको सञ्चालक समेत बनेको पाइएको बताएका थिए ।

‘तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिकामा, जिम्मेवारीमा रहनु भए पनि विशुद्ध तपाईंको हृदय चाहिँ केही चर्चित व्यवसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नु हुन्छ भन्ने तपाईंमा प्रश्न छ,’ बर्तौलाले भने, ‘यो कानुन वृत्तमा पनि, न्यायिक क्षेत्रमा पनि, व्यवसायिक क्षेत्रमा त्यो कुरा तपाईंका बारेमा लाउँछन् ।’

उनले प्रश्न गरे, ‘व्यवसायिक घरानाहरुसँग बढ्ता तपाईं बफादार भएर वकिलको हिसाबले वकालत होइन, व्यवसायिक घरानाको प्रतिनिधिकै हिसाबले पनि यहाँले काम गर्नुहुन्छ भन्ने, यहाँको बसउठ त्यस्तो रहन्छ भन्ने एउटा बुझाइ छ । यो होइन भन्ने कुरा तपाईंले कसरी भन्नुहुन्छ ?’ हरिकृष्ण कार्की कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा हुँदा तत्कालीन सर्वोच्च बारको अध्यक्ष रहेका पोखरेलले कार्की माथि प्रश्न उठाएको र आफूले व्यवसायिक हितका लागि काम गर्छु भनेर बोलेको स्मरण समेत बर्तौलाले गरे ।

बर्तौलाले फेरि प्रश्न गरे, ‘प्रस्तावित न्यायाधीश हुनेवित्तिकै खुट्टा उचालेर, लौ हुन्छ भनेर, ७ महिना अघि गरेको कमिटमेन्ट फ्याँकेर, च्यातेर हिँड्न मिल्छ रु यदि तपाईं त्यो च्यातेर हिँड्नु हुन्छ भने भोलिको दिनमा न्यायिक क्षेत्रमा विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ ?

त्यतिमात्र होइन, आज वकिलहरु पद पाउनेवित्तिकै जे पनि गर्छन् भन्ने मानक स्थापित गर्न खोज्या हौं हामीले ?’ पोखरेलले सुनुवाइ समितिको बैठकमा आफ्ना योजनाको प्रस्तुति दिँदै यदि सर्वोच्चको न्यायाधीशमा अनुमोदित भए राजनीतिक पहिरन छाड्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us