ओलीको विकल्प विद्या भण्डारी भन्दै हिंड्नेको खैरियत छैनः बडाल

काठमाण्डु टुडे २०८२ असार १५ गते ८:२२ मा प्रकाशित

काठमाण्डू, १५ असार– एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले विभाजनको रेखा कोरेर एमाले कमजोर पार्ने देशी विदेशी षड्यन्त्र अघि बढेको दाबी गरेका छन् ।

बडालले महाधिवेशन आउन बाँकी नै रहेका बेला नेतृत्वको विकल्प खोजी नगर्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । उनले पार्टीमा अध्यक्ष केपी ओलीको विकल्प विद्या भण्डारी नभएको बताए ।

‘महाधिवेशन प्रतिनिधि चयन नभएसम्म पार्टी नेतृत्वबारे बहस नगर्न केन्द्रीय अनुशासन आयोगको अध्यक्षका हैसियतले म निर्देशनात्मक आग्रह गर्दछु’, ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा बडालले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रले एमालेमा विभाजनको रेखा कोर्ने डिजाइन गरेको छ । त्यसैले पार्टीमा धाँजा हुने खालका अभिव्यक्ति, व्यवहार र आचरण कसैले नगरौं । आपसमा रस्साकस्सरी नगर्न, गुटबन्दी नगर्न आग्रह, विचारमा बहस गर्न मेरो सुझाव छ ।’

बडालले अध्यक्ष केपी ओलीको विकल्प पूर्वराष्ट्रपति विद्या भण्डारी हुन नसक्ने उनले बताए । ‘एमालेमा केपी ओलीको विकल्प विद्या भण्डारी हुँदै होइन, एमालेमा विकल्प धेरै नेता छन्’, बडालले भने । कुनै व्यक्ति भए हुन्छ, नभए हुँदैन भन्नु विचार नभएका मानिस भएको आरोप उनले लगाए ।
एउटै डुंगामा बसेर डुंगा प्वाल पार्नेहरु डुब्ने चेतावनी उनको छ । पार्टी कमजोर पार्न खोज्नेहरु सकिने उनले बताए । बडालले गुटबन्दी एमालेमा सह्य नहुने र गुटबन्दी गर्नेको खैरियत पनि नरहने चेतावनी दिए ।

विद्या भण्डारी पार्टी राजनीतिमा फर्किए पनि उनको जिम्मेवारीबारे कुनै निर्णय नभएको भन्दै बडालले भदौमा हुने विधान अधिवेशनले टुंगो लगाउने उल्लेख गरे । बडालले भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको शनिबारको कार्यक्रममा आफू पनि सहभागी भएको भन्दै ओली र भण्डारीले एकअर्काविरुद्ध एक शब्द उच्चारण नगरेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us