
काठमाण्डू, १५ असार– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि, विशेषतः धानखेतीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
धान दिवस–२०८२ को अवसरमा आइतबार शुभकामना सन्देशमार्फत उनले जलवायु अनुसार उपयुक्त धान जातको छनोट र मल सिफारिस प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।
साथै, उनले साना किसानलाई सहकारीमार्फत बजारमा सजिलो पहुँच सुनिश्चित गरिनु पर्ने सुझाव पनि दिएका छन् ।
‘धान हाम्रो केवल खाद्यबाली मात्र होइन, यसले हाम्रो संस्कार, अर्थतन्त्र र आत्मनिर्भरताको समृद्ध कडीको प्रतिनिधित्व गर्छ’, प्रचण्डले भनेका छन् ।
नेपालको कुल खाद्यान्न उत्पादनमा धानको हिस्सा ५० प्रतिशतभन्दा माथि रहेको भन्दै उनले जुन तथ्यले यसको महत्त्व अझै स्पष्ट पार्ने उल्लेख गरे ।
धान दिवसको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ ले देशभित्रै पर्याप्त उत्पादन गरेर खाद्य सुरक्षाको वातावरण बनाउने आवश्यकतालाई जोड दिने उनको भनाइ छ ।
उनले किसानहरू अहिले पनि मल, बीउ र सिँचाइको अभावमा संघर्षरत रहेको उल्लेख गरे । आफूले सरकार सञ्चालन गर्दा मल आपूर्ति प्रणाली प्रभावकारी बनाएको तथा सिँचाइ आयोजनामा प्राथमिकता दिँदै खेतसम्म पानी पुर्याउन गम्भीर प्रयास गरेको प्रचण्डले बताए ।
हालको सरकारको नीति अपेक्षाकृत कमजोर भएको भन्दै उनले मल र सिँचाइसम्बन्धी समस्याहरू झनै जटिल हुँदै गएको धारणा व्यक्त गरे।
धान खेतीमा आत्मनिर्भरता हासिल गर्न बीउ, मल, सिँचाइ सुविधा र धान जोनमा आवश्यक लगानी सुनिश्चित गर्न उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे ।