
काठमाण्डू, १४ असार– कांग्रेस सांसद् एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसद् सञ्चालक रहेको ‘सुमिरे टुर एण्ड ट्राभल्स’ ले भिजिट भिसाका नाममा मानव तस्करी गर्दै आएको आरोप लगाएका छन् ।
प्रतिनिसभा बैठकमा शनिबार खतिवडाले उक्त ट्राभलले विगत १० वर्षदेखि अवैध रुपमा भिजिट भिसामा नेपालीलाई जापान पठाउँदै आएको बताए । त्यसबारे छानबिन गर्न खतिवडाले सभामुखमार्फत सरकारले ध्यानाकर्षण गराए । उक्त ट्राभल कुन सांसदको हो भन्नेबारे भने उनले खुलाएनन् ।
खतिवडाले भिजिट भिसाका नाममा दैनिक लाखौं असुली गरेर नेपालीलाई विदेश पठायएको विषय उठाएर रास्वपाले संसद बैठक अवरुद्ध गर्दै आएकामा आपत्ति जनाए । भिजिट भिसाका नाममा जापान पठाउने ट्राभल सञ्चालक पैसाले सांसद पद किनेर संसद प्रवेश गरेको आरोप पनि खतिवडाले लगाए ।
‘सुमिरे टुर एण्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ’, उनले भने ।
उनले रास्वपाले सभामुखले समय दिएपछि आफ्ना कुरा राख्ने र अरु सांसद बोल्न थालेपछि नारा लगाउने प्रक्रिया संसदमा जारी राखेको भन्दै आपत्ति जनाए ।
‘खतिवडाले उक्त कार्यमा संलग्न रहेकाहरूबाटै संसद्मा उफ्रिने काम भएकाले छानबिन गर्न माग गरे ।निष्पक्ष छानबिन गरी ती सांसदलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
‘तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ । यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्’, खतिवडाले भने ।