
काठमाण्डू, १४ असार– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र बहसलाई निषेध गर्ने अध्यक्ष केपी ओलीको प्रयासप्रति आपत्ति जनाएका छन् ।
तत्कालीन महासचिव मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा पोखरेलले बहसलाई निषेध गर्न नपाइने बताए ।
आगामी भदौमा विधान अधिवेशन हुने भएकाले बोल्ने बेला यही भएको उनको भनाइ थियो । उनले लोकतान्त्रिकरणको प्रयासलाई रोक्न कसैले नसक्ने चेतावनी दिए । ‘नेकपा एमालेले धेरै लामो छलफल, बहस गरेर आम कार्यकर्ताको भावनाअनुसार लोकतान्त्रिकरण गरेको हो । भदौमा हाम्रो विधान अधिवेशन आउँदैछ त अलिकती कुरा गर्छन् नि, यो ठीक होला कि त्यो ठीक होला भन्छन् नि । खबरदार यो बोल्न पाउँछस्, यो बोल्न पाउँदैनन् भन्न मिल्छ ? मिल्दैन ।’
पोखरेलले पार्टी नेताहरुको अनुहार र झण्डामा मात्र नहुने उल्लेख गरे ।
ओलीले शनिबार मात्र भण्डारीकै जन्मदिवसका अवसरमा कलंकीमा आयोजित वृक्षारोपण कार्यक्रममा महाधिवेशन सुरु नहुँदै स्वार्थी समूहले बहस थालेको भन्दै आपत्ति जनाएका थिए ।
ओली दुई कार्यकाल कार्यकारी भूमिकामा रहने र ७० वर्षे उमेर हदको पक्षमा छैनन् । पोखरेलले भने त्यो हटाउन नमिल्ने यसअघि नै बताएका छन् ।