हेवाखोलाको बेलिब्रिज भाँचिदा ३ मजदुरको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १ गते ८:५४ मा प्रकाशित

काठमाण्डू, १ असार– पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भारतको प्राविधिक सहयोगमा पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने निर्माणाधीन हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो ।

सो घटनामा ६ जना मजदुर गम्भीर घाइते भएका थिए । तीमध्ये ३ जनाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पुल भाँचिदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ । ०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि अवरुद्ध राजमार्गमा बेलिब्रिज निर्माण गरी यातायात सुचारु भएको थियो ।

तर गत वर्ष असोज १२ गते आएको बाढीले त्यो बेलिब्रिज पनि बगाएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको ७० मिटर लामो बेलिब्रिज जडान गरिरहेका बेला भाँचिएको थियो । शनिबार पुल जडान गरेर सक्ने तयारी थियो । तर निर्माणका क्रममा नै भाँचिएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us