दुईबको मरिनास्थित ६७ तले भवनमा भीषण आगलागी

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते २२:५४ मा प्रकाशित

एजेन्सी– दुबईको मरिनास्थित एक ६७ तले गगन चुम्बी भवनमा भीषण आगलागी भएको छ ।

आगलागी भएको आवासीय भवनमा बसोबास गरिरहेका ३ हजार ८ सय २० जनालाई सुरक्षित रुपमा उद्धार गरी अन्यत्र सारिएको अधिकारीहरुले बताएका छन् । उक्त भवनका ७ सय ६४ वटा अपार्टमेन्टमा मानिसहरु बस्ने गरेका थिए ।

स्थानीय समाचारहरुका अनुसार घटनामा कोही पनि हताहती भएको जानकारी प्राप्त भएको छैन । भवनबाट एकाएक आगो र धुवाँको मुस्लो निस्किन थालेपछि मानिसहरु आत्तिएका थिए । केहीले ज्यान बचाइदिन याचना गर्दै झ्यालबाट हात हल्लाएको दृष्यहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् ।

समाचारमा जनाइएअनु्सार करिब ६ घण्टा लगाएर आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । सुरक्षित स्थानमा सारिएकाहरुको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिइएको सरकारी अधिकारीले बताएका छन् ।

यस्तै उनीहरुलाई मनोवैज्ञानिक सहायता समेत उपलब्ध गराइएको छ । आगलागीका कारण भवनबाट विस्थापित भएकाहरुको अस्थायी बसोबासको प्रबन्ध मिलाइने दुबई सडक तथा यातायात प्राधिकरणले जनाएको छ ।

आगलागीपछि मरिना र पाम जुमेराह स्टेशनको बीचमा पर्ने सडकमा पूर्ण रुपमा यातायात बन्द गरिएको थियो । अग्नि नियन्त्रकहरुको आजतजावत सहज बनाउन यातायात बन्द गरिएको हो ।

आगलागीको कारण पत्ता नलागेको र त्यसको अनुसन्धान भएरहेको स्थानीय प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us