शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषीः कांग्रेस सांसद भण्डारी

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– कांग्रेस सांसद चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी रहेको बताएका छन । आज शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस सांसद भण्डारीले यस्तो बताएका हुन ।

सांसद भण्डारीले समयमै ऐन कानुन निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको पनि बताएका छन । उनले पुर्खाहरूले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याएको भए पनि करिब १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको पनि बताएका छन । सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बन्न नसक्नु सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको पनि बताएका छन ।

उनले भने, ‘आज हामी जे छलफल गरिरहेका छौँ । नेपालमा शिक्षा क्षेत्रमा जे समस्याहरू देखिरहेका छन् । विगत पनि दोषी छ विगतको नेतृत्व पनि दोषी छ । जसले समयमा ऐन ल्याउन सकेन, छलफल गर्न सकेन । हाम्रो पुर्खाले हाम्रो देशमा २८ हजार विद्यालय सञ्चालन गरे पनि २८ हजारमा १७ विद्यालयहरू बन्द हुँदै छ । हामी कहाँनेर चुक्यौँ त्यो महत्त्वपूर्ण प्रश्न हो ।

के कारण हाम्रा बच्चाहरू सरकारी स्कुलमा जाँदैनन् । के कारण सरकारी विद्यालयमा विश्वास गर्दैनन् त्यो सबैभन्दा ठुलो चुनौती हो ।’ शिक्षा प्रणाली राम्रो नहुँदा मुलुकलाई अगाडि बढाउनसमेत समस्या हुने बताउँदै सांसद भण्डारीले ऐन कानुन निर्माणमा गम्भीर बन्न नसक्दा वर्तमानको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

उनले शिक्षकका सेवा सुविधाका कुरासँगै आफूहरूको कर्तव्यका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us