
काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले आफूले अख्तियारले गरिरहेको भिजिट भिसा प्रकरणमा कुनै प्रकारको अनुचित दबाब वा प्रभाव पार्ने काम नगर्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै उनले अख्तियारजस्तो स्वतन्त्र र सबल निकायको अनुसन्धान प्रभावित गर्नै नमिल्ने उनले बताए । संवैधानिक आयोगले गरिरहेको काम प्रभावित पार्ने गतिविधि भइरहेको भन्दै उनले आपत्ति जनाए ।
भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने सबल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि कामकारबाहीलाई आफूले खुला हृदयले स्वागत गर्ने र भिजिट भिसा प्रकरण छानबिनमा जस्तोसुकै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए । आफूले वर्षौंदेखि लोकतन्त्र र सुशासनका लागि लड्दै आएको बताए ।
उनले आफूले विधिको शासनको लागि आवज उठाउँदै आएको व्यक्ति भएका नाताले छानबिन प्रभावित पार्ने काम हुनै नसक्ने जिकिर उनको छ ।
‘म लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको छु । विधिको शासनको लागि आवज उठाएको छु । त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गर्ने मात्र होइन, म यसको थप क्रियाशिलता र आयोगको सबलताको अपेक्षा गरिरहेको छु । जुन कुरा मेरा विगतका क्रियाकलापले पनि छर्लङ्ग पार्दछ’, उनले भने, ‘गृहमन्त्री पदको दुरुपयोग गरी अनुसन्धानलाई प्रभावित पार्न सक्ने सम्बन्धमा सर्वप्रथम मेरो व्यक्तिगत मूल्य र जीवन आदर्शले कुनै अनुसन्धान प्रभावित गर्न दिँदैन, म यसो गदिर्न । म न्यूनतम नैतिक आचरणमा बस्ने व्यक्ति हुँ । मेरो साथ संगतमा बस्ने आदरणीय नेता तथा यहाँ उपस्थित माननीयज्यूहरुलाई समेत यो विषय अवगत छ भन्ने म ठान्दछु ।’
उनले अख्तियारले छानबिन गरिरहेको विषय आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अख्तियार आफू मातहतमा नपर्ने भएकाले गृहमन्त्रीका रुपमा रहिरहँदा अनुसन्धानमा प्रभाव पार्छ भन्ने आशंका आधारहीन र अख्तियारको स्वतन्त्रतालाई अपमान गर्ने कुरा भएको बताए ।
‘आयोगमा भएको अनुसन्धानको विषय मलाई जानकारी हुँदैन । सहयोग मागेको अवस्थामा मन्त्रलाय र मातहतका निकायबाट माग्ने सहयोगमा सहयोग हुन्छ’, उनले भने ।