
काठमाण्डू, ३० जेठ– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै शुक्रबार उनले विगतदेखिनै आफ्नो सार्वजनिक छवि हेर्न भन्दै मानव तस्करीजस्तो जघन्य अपराधमा आफू संलग्न हुनै नसक्ने बताए ।
यस घटनामा आफूलाई नियोजित र प्रतिशोधपूर्ण रूपमा राजनीतिक आक्रमण गरिएको दाबी उनको छ ।
लेखकले आफूविरुद्ध केही राजनीतिक दल, सञ्चार माध्यम र सामाजिक सञ्जालका माध्यमबाट लगाइएका आक्षेपमा कुनै सत्यता नरहेको दाबी गर्दै खेद प्रकट गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भन्ने प्रचारमा कुनै सत्यता छैन’, उनले भने, ‘म यो सदनबाट स्पष्ट पार्न चाहन्छु कि मेरो कुनै संलग्नता छैन, हुन सक्दैन । मेराविरुद्ध राजनीतिक षड्यन्त्र र आक्रमणको प्रयास गरिएको छ ।’
गृहमन्त्रीले अख्तियारको छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्ने तथा छानबिनका क्रममा कुनै पनि प्रकारको संलग्नता भेटिए नैतिक रुपमा आफू पदमा बस्न योग्न नहुनेबारे जानकार रहेको उल्लेख गरे । कर्मचारीले गरेको बदमासीमा राजनीतिक नेतृत्वलाई जोड्ने हो भने विगतमा कसकसका पालामा कति कर्मचारीमाथि कारबाही भएको छ तथ्यांक हेर्न उनले सुझाए ।
०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आफू श्रममन्त्री रहेका बेला विभिन्न ४ मुलुकसँग श्रम सम्झौता गरेको र श्रम ऐन आफ्नै हातले लेखेर प्रस्तुत गरेको भन्दै उनले त्यस्तो व्यक्तिमाथि मानव तस्करीको आरोप लगाइनु आपत्तिजनक रहेको बताए । लेखकले भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरेका अध्यागमन कार्यालय प्रमुख तीर्थ भट्टराईलाई आफूले गृह मन्त्रालय बाहिरबाट ल्याएर उक्त जिम्मेवारी नदिएको प्रष्टीकरण दिए ।
भट्टराईलाई पूर्वगृहमन्त्रीहरु नारायणकाजी श्रेष्ठ र रवि लामिछाने गृहमन्त्री हुँदा पनि गृह मन्त्रालयअन्तर्गत महत्वपूर्ण जिम्मेवारी दिइएको दाबी गरे ।