रवीन्द्र मिश्र र धवलशमशेर छिट्टै अदालतमा उपस्थित हुने

काठमाण्डु टुडे २०८२ जेठ ३० गते १६:२२ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– गत १५ चैतमा काठमाण्डूको तीन कुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शन हिंसात्मक भएसँगै अदालतमा मुद्दा खेपिरहेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा हाल ‘फरार’ छन् ।

उनीहरू आफ्ना कानुन व्यवसायीसँगकै परामर्शका आधारमा अदालतमा हालसम्म अनुपस्थित नभएको बताइएको छ । उनीहरू उपयुक्त समयमा छिट्टै अदालतमा उपस्थित भएर कानुनी लडाइ लड्ने उनीहरु निकट स्रोतले जानकारी दिएको छ । बन्दी प्रत्यक्षीकरण रिट दायरसँगै सर्वोच्च अदालतको आदेशका आधारमा मिश्र रिहा भएका थिए । यस्तै राणा क्यान्सरको उपचारका लागि रिहा भएका थिए ।

जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर हुँदा भने उनीहरु पनि प्रतिवादी छन् । तर पनि उनीहरु थुनछेक बहस हुँदा उपस्थित नभएका हुन् । मिश्र हाल स्वास्थ्य लाभ र विश्रामका लागि परिवारसँगै रहेको मिश्र निकट राप्रपाका एक नेताले बताए । ती नेताका अनुसार मिश्र अहिले ‘फरार’ हैनन्, तर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा नरहेका मात्र हुन् ।

उनका अनुसार मिश्रलाई सर्वोच्च अदालतले थुनाबाहिरै रहेर कानुनी लडाइ लड्न आदेश दिएको छ। त्यसैले अहिले प्रहरीले उनलाई नियन्त्रणमा लिन सक्ने अवस्था छैन । ‘अदालतले हाजिरी जमानीमा छाडेको हो भनेपछि बाहिर रहेर मुद्दा लड्न पाइन्छ,’ ती नेताले बताए । यस्तै राणा पनि पार्टीकै काममा खटिइरहेका छन् ।

उपस्थित नभएकै कारण अदालतले उनीहरुलाई पक्राउका लागि वारेन्ट जारी गर्ने तयारी गरेको बताइँदा उनीहरू अब छिट्टै अदालतमा हाजिर हुन लागेको बताइएको छ । उनीहरू हाजिर भएपछि थुनछेकको प्रक्रिया सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us