अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गर्ने तयारी गरेका छन । अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गर्मीका कारणले सबैभन्दा बढी विद्यालय जाने बालबालिका प्रभावित भएपछि भरतपुर महानगरपालिकाले २८–३० जेठसम्म र खैरहनी नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले एक सूचना जारी गर्दै विद्यालय बिदा दिएका बेलामा बालबालिकालाई दिउँसोको समयमा घरबाहिर हिँड्डुल गर्न नदिन, नदी पोखरीहरूमा पौडी खेल्न जान नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकमा अनुरोध गरेका छन् ।

यस्तै खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले एक सूचना जारी गर्दै नगर क्षेत्रका सबै विद्यालयमा २८ जेठमा विदा दिने निर्णय भएको जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us