
काठमाण्डू १५ जेठ– आज (बिहिबार) गणतन्त्र दिवसको अवसरमा काठमाण्डूका विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको र्याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ ।
प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादी समर्थकहरूलाई जमलतर्फ पठाएको प्रहरीले जनाएको छ ।
यतिखेर शान्तिबाटिक क्षेत्रको दृश्य हेर्ने हो भने वारि राजावादी, पारि एमाले र बीचमा बाक्लो संख्यामा प्रहरी रहेका छन् । सम्भावति दुर्घटनालाई मध्यनजर गर्दै दुवै पक्षलाई जम्काभेट हुन नदिने वातावरण प्रहरीले बनाएको हो ।
प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादी समर्थकहरूलाई शान्तिबाटिकामा प्रवेश दिने यसअघि नै बताइसकेको छ । एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै काठमाण्डूका विभिन्न स्थानबाट उत्सव र्याली निकालेको छ ।
विभिन्न स्थानबाट निस्कने र्याली भृकुटीमण्डपमा भेला भएर शान्तिवाटिकमा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ ।