गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन्ः चन्द

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १३:२९ मा प्रकाशित

बुटवल, १५ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रप्रति कोही सन्तुष्ट नरहेको दाबी गरेका छन् ।

बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले गणतन्त्रप्रति आमनागरिकको धारणा सकारात्मक नरहेको जिकिर गरेका हुन् ।

गणतन्त्रमा पनि राज्य सञ्चालकको व्यवहारमा सामन्तवादी व्यवस्थाको अवशेष कायमै रहेकाले जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो ।
चन्दले ठूला भ्रष्टाचारका काण्डमा काँग्रेस, एमाले र माओवादीका नेता संलग्न हुने गरेको आरोप लगाए ।

ठूला दलका शीर्ष नेताले मुलुक लुट्ने विषयमा चोचोमोचो मिलाउजे गरेको आरोप पनि चन्दले लगाए । नेताहरुले बिना उद्यम र व्यवसायबिनै कसरी बिलासी जीवन बिताइरहेका छन् भन्ने प्रश्न चन्दको थियो ।

‘गणतन्त्रप्रति कोही पनि जनता सन्तुष्ट छैनन्’, चन्दले भने, ‘कुनै पनि पेसा र व्यवसायमा आवद्ध नागरिक, बुद्धिजिवी कोही सन्तुष्ट छैनन् ।’

विप्लवले गणतन्त्रप्रति जनअसन्तुष्टि बढ्दै जाँदा सडकमा उत्रिएका राजावादीहरु विकल्प हुन् कि भन्ने मनोविज्ञान जनतामा विकास भएको दाबी उनको छ । यद्यपि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने चन्दले स्पष्ट गरे ।

जनताको असन्तुष्टिको समाधान नेपाली विशेषताको समाजवादबा मात्र हुने सक्ने तर्क उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us